बारामा आगलागीः १५ लाख बराबरको क्षति

होमल्याण्ड खबर

२०७६ बैशाख ९ गते, सोमबार १०:२३ मा प्रकाशित

 निजगढ नगरपालिका—१० लालमा तीन घर र दुई गोठमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ ।

आइतबार राति आगलागी हुदा स्थानीय कालु मोक्तानको घरसहित ५० हजार रुपैयाँ, गरगहना, लत्ताकपडा, १५ मुरी धान, मकै जलेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्थानीय श्यामलाल बोम्जनको गोठ जल्दा तीन वटा भैंसी, १५ बाख्रा र कृष्ण बहादुर बोम्जनको गोठ जल्दा २५ वटा बाख्रा मरेका छन्। आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ ।

टायलको छानो भएको काठको घर–गोठमा लागेको आगो जीतपुरसिमरा उपमहानगरपालिका, कोल्हवी, चन्द्रपुर नगरपालिका र नेपाल आयल निगम अम्लेखगञ्जको चार वटा दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले चार घण्टा लगाएर नियन्त्रणमा ल्याएका थिए।

पिडीतका अनुसार आगो गोठबाट सुरु भएको थियो। आगलागीको कारणबारे भने केही खुल्न सकेको छैन।