१३ मंसिर २०८१, बिहीबार
आगामी बैशाख १४ गतेदेखि २१ गतेसम्म काठमाडौं औद्योगिक व्यापार, पर्यटन तथा बृहत साँस्कृतिक महोत्सव हुने भएको छ ।
‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो आफ्नै पहिचान हाम्रो सँस्कृति जगेर्ना गर्ने नेपाल राष्ट्रिय तामाङ घेदुङको महाभियान’ भन्ने मूल नाराको साथमा नेपाल राष्ट्रिय तामाङ घेदुङको आयोजना तथा सलोनी उडन क्राफ्टको सहयोगमा काठमाडौंको चुच्चेपाटीस्थित हायात ग्राउण्डमा महोत्सव हुने भएको हो ।
महोत्सवको उद्घाटन भने १३ गते नै हुने छ । महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले गर्ने आयोजकले जनाएको छ ।
नेपाल मेला महोत्सव संघले महोत्सवको व्यवस्थापन गर्ने छ ।
मेलामा दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न सामग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, जूत्ताहरु, कृषि तथा हस्तकलाका सामग्रीहरु, भाँडाकुँडाका सामग्रीहरु, अटोमोबाइल, खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल इलेक्ट्रोनिक्स सामानहरुमा प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ ।
यसैगरी, मेलामा बाल उद्यान, राटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल साम्रगीका साथै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।
महोत्सवमा करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।