१३ मंसिर २०८१, बिहीबार
नेपाल उधोग परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र चीनबीच केही वर्ष यता विकास हुँदै गएको आपसी सम्बन्धले दुबै देशका निजी क्षेत्र बीच समझदारी भइ लगानी र औधोगिक विकासमा महत्वपूर्ण उपलब्धी हासिल हुने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपतिको चीन भ्रमण टोलीमा रहेका मोरले बेइजिङ्गमा आयोजित नेपाल चीन आर्थिक तथा व्यापार मञ्चमा परिसंघको अध्यक्षको तर्फबाट उनले उक्त विचार व्यक्त गरेका हुन् ।
उक्त मञ्चमा बोल्दै परिसंघका अध्यक्ष मोरले दक्षिण एशियाका मुलुक मध्ये नेपाल लगानीको लागि राम्रो अवसर भएको मुलुक रहेको बताएका थिए । हालै नेपाल सरकारले लगानी सुरक्षाको लागि उधोग–व्यवसायसँग सम्बन्धित कानुन, नीतिका साथै यस क्षेत्रमा प्रक्रियागत एवं संरचनात्मक सुधार गरेकोले कुनै पनि लगानीकर्ताले नेपालमा निश्चिन्त भइ लगानी गर्न सक्ने वातावरण बनेको विश्वास दिलाउँदै उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गरेका थिए ।
उनले भनेका थिए, “नेपालमा कार्यरत बहुराष्ट्रिय कम्पनीहरु, लगानीका सफल उदाहरणहरु हुन जसले राम्रो नाफा आर्जन गरेका छन् ।”
उनले नेपाली उत्पादनलाई बजारको समस्या नरहेको, नेपाल भारत वाणिज्य सन्धि, नेपाल चीन वाणिज्य सन्धि र नेपाली वस्तुहरुको निकासीमा अमेरिका र युरोपका बजारमा प्राप्त हुने भन्सार सहुलियत महत्वपूर्ण फाइदा रहेको जनाए ।