१ मंसिर २०८१, शनिबार
कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा संलग्न भएको देखिए उनलाई पनि कारबाही हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रेस युनियन संखुवासभाको खाँदबारीमा आयोजनामा भएको पत्रकार भेटघाटमा बोल्दै सिंहले बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा जो कोहीको संलग्नता रहेको देखिए पनि कारवाही हुनुपर्ने बताएका हुन् ।
सिंहले सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढिरहेको आरोप लगाए । ‘सरकारसँग दुई तिहाई बहुमत छ,’ उनले भने, ‘संविधान केही होइन, कानुन केही होइन, भन्ने रवैया देखाइरहेको छ ।’ ‘कांग्रेसका नेता या अरु कुनै पार्टीका हुन्, यसको निष्पक्ष तवरले छानविन गर्नुपर्छ र कारबाही हुनुपर्छ,’ उनले भने ।
नेता सिंहले सरकार नेकपाका नेताका गल्ती ढाकछोप गर्न लागेको समेत आरोप लगाए । उनले दुई तिहाइ बहुमतको सरकारका गतिविधि कुनै पनि क्षेत्रमा सन्तोषजनक नरहेको दाबी गरे । ‘सरकारले आफ्नो असक्षमता ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको छ,’ उनले भने, ‘यो हामी कदापी यस्तो हुन दिन्नौं ।’