नयाँ पेट्रोल पम्प खोल्नका लागि लाइसेन्स खुल्यो

होमल्याण्ड खबर

२०७६ बैशाख १९ गते, बिहीबार १५:४७ मा प्रकाशित

नेपाल आयल निगमले नयाँ पेट्रोल पम्प खोल्नका लागि लाइसेन्स खुला गरेको छ । पेट्रोल पम्प सञ्चालन सम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर निगमले नयाँ पम्प खोल्न अनुमति दिएको हो ।

निगमले एक सूचना सार्वजनिक गर्दै सातै प्रदेशमा पेट्रोल पम्प खोल्न सक्ने गरी प्रस्ताव गरेको छ ।

निगमका अनुसार, तराईमा १० कठ्ठा जमिन भई पूर्वपश्चिम राजमार्गभन्दा ५० मिटर दूरीमा हुनुपर्ने प्रावधान छ । यस्तै, काठमाडौं र ललितपुर महानगरपालिकामा ७५० वर्गमिटर वा १ रोपनी आठ आना भइ सडकतर्फ २० मिटर रहेको हुनुपर्ने व्यवस्था गरिएको छ । अन्य स्थानका लागि चार कठ्ठा वा दुई रोपनी जग्गा हुनुपर्ने व्यवस्था गरिएको बताएको छ ।

पछिल्लो समय मुलुकभर पेट्रोलियम पदार्थको खपत बढ्दो भएकाले पनि पम्प संख्या थप्नुपर्ने बाध्यता भएको निगमले जनाएको छ  । हाल दैनिक १५ लाख लिटर पेट्रोल र ४८ लाख लिटर डिजेल खपत हुँदै आएको तथ्यांक छ । हाल देशभर १ हजार ४ सय ८० पम्प सञ्चालनमा छन् ।