बार्गेनिङ रोक्न ‘इजी ट्याक्सी नेपाल’ एप्स ल्याउने तयारी

होमल्याण्ड खबर

२०७६ जेष्ठ ७ गते, मंगलवार ११:५२ मा प्रकाशित

प्रविधिको बढ्दो प्रयोगलाई उपयोग गर्दै उपत्यका ट्याक्सी व्यवसाय तथा चालक सेवा समाजले ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्स ल्याउने तयारी गरेको छ ।

समाज तथा इजी एस्युरेन्स प्रालिको संयुक्त सहकार्यमा सञ्चालन गर्न लागिएको उक्त एप्सले यात्रुलाई ट्याक्सी खोज्नुपर्ने र बार्गेनिङ गर्नुपर्ने झन्झट हट्ने बताइएको छ ।

समाजले सरकारी मूल्यदरमा नै सेवा दिने तयारी गरेको छ । आधुनिक युगमा प्रवेश गरेसँगै मानिस अनलाइन सेवामा प्रभावित भएकाले यो एप्स सञ्चालनमा ल्याइएको सेवा समाजले बताएको छ ।

सेवा समाजका अनुसार, अबको १५ दिनपछि औपचारिक कार्यक्रम गरेर यो एप्स बजारमा ल्याइन्छ ।

एप्स उपत्यकाको फरकफरक ठाउँ र समयबाट सञ्चालनमा ल्याइनेछ । एन्ड्रोइड तथा आइफोनको एप स्टोर तथा प्ले स्टोर दुवैबाट डाउनलोड गरेर यो सेवा लिन सकिनेछ ।

जेठ अन्त्यदेखि आउन लागेको यो मोबाइल एप्स चालक तथा यात्रुको पुल बन्ने अधिकांश ट्याक्सी चालकको भनाइ छ ।