१३ मंसिर २०८१, बिहीबार
नारायणहिटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालयको उद्घाटन २०७६ जेठ १५ हुने भएको छ ।
सर्वसाधारणका लागि समेत खुला गरिन लागेको सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्लाई दिइएको छ ।
काठमाडौं लगायत नेपालका विभिन्न फोटोग्राफर मार्फत् नेपालका विसं २००७ अघि देखिका विभिन्न राजनीतिक घटनाक्रमका तस्बीर पनि सङ्कलन गरेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिएका छन् ।
पहिले हनुमानढोका सङ्ग्रहालयभित्र पूर्व राजाहरूको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइने गरेकोमा गणतन्त्र सङ्ग्रहालय स्थापना भइसकेपछि गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका प्रदान गर्न सक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् ।
नेपाल सरकारको रु ४२ करोडको लगानीमा बन्न लागेको उक्त सङ्ग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अङ्गभङ्ग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण गरिएको छ।
गणतन्त्र स्मारकमा एकैपटक दुई हजारजना अटाउनसक्ने सभा हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण हुने भएको छ।
विभिन्न कालखण्डमा देशभित्र भएका आन्दोलनका दस्तावेजसमेत त्यहाँ समावेश हुने बताइएको छ ।
गणतन्त्र स्मारकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइने बताइएको छ ।