आँधीबेहरी पीडितको सहयोगमा जुट्न कांग्रेस नेता पौडेलको आग्रह

होमल्याण्ड खबर

२०७६ जेष्ठ २४ गते, शुक्रबार १२:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुर–कैलालीका हावाहुरी पीडितलाई सहयोग गर्न पार्टीका नेता–कार्यकर्तालाई आह्वान गरेका छन् । नेता पौडेलले शुक्रबार मध्यान्ह सामाजिक सञ्जाल फेसबुकमार्फत् कञ्चनपुर–कैलालीका हावाहुरी पीडितलाई सहयोग गर्न नेता–कार्यकर्ताहरुलाई आह्वान गरेका हुन् । 

उनले बिहीबार बेलुकी आएको हवाहुरीले पुर्याएको धनजनको क्षतिको खबरले दुःख लागेको भन्दै लेखेका छन्, ‘‘सरकारी निकाय, संघसंस्था तथा नेपाली कांग्रेस पार्टीका नेता एवं कार्यकर्तालाई पीडितहरुको सहयोगको लागि आव्हान गर्दछु ।’’
नेता पौडेलले हवाहुरीमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको उपचार, राहत तथा उद्धारका लागि उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कैलाली र कञ्चनपुर जिल्लामा आएको आँधी, हावाहुरीमा परी अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ७६ जना घाइते छन् । घाइतेमध्ये चार जनाको अवस्था निकै गम्भीर छ ।

घाइतेहरूको सेती अञ्चल, पद्मा र निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनले हावाहुरी प्रभावित क्षेत्रमा जनघनत्व रहेकाले घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।