एसईईको नतिजा हेर्न टेलिकमको यस्तो व्यवस्था

होमल्याण्ड खबर

२०७६ असार १२ गते, बिहीबार ११:५४ मा प्रकाशित

नेपाल टेलिकमले सदाझैं २०७५ सालको एसईई परीक्षाको नतिजा सहज रुपले थाहा पाउनका लागि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट SEE पछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्नेछ । जस्तैः see<space>symbol No टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ । 

यो बाहेक १६०० मा कल गरेर पनि नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ । 

राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने टेलिकमले जनाएको छ ।