१० मंसिर २०८१, सोमबार
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा पनि उडान भर्ने भएको छ ।
आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान भर्ने तयारी गरेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो ।
निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको बताएको छ ।
त्यसपछि जीएसए प्रक्रिया पूरा गरी दशैँ अघिनै साउदी अरबको रियाद विमानस्थलमा जहाज उडान गर्ने तयारी गरिएको निगमले जानकारी दिएको छ ।
लामो गन्तव्यमा उडान भर्ने योजनाअनुरुप निगमले जापान, चीन, साउदीलगायत अन्य गन्तव्य पनि खोजी गर्दैछ ।
निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमले दक्षिण कोरियामा पनि उडानका लागि पहल गरिरहेको जनाएको छ ।
निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।