आईफा अवार्डलाई रकम दिने निर्णय लिनु उचित होइनः नेता रावल

होमल्याण्ड खबर

२०७६ असार १५ गते, आईतवार १६:२८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकारले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय भारतीय फिल्म अवार्ड कार्यक्रमका लागि एक अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । नेता रावलले निजी क्षेत्रको लगानीमा आयोजना हुने गरेको सो अवार्डमा नेपाल सरकारले १ अर्ब आर्थिक सहायता उपलब्ध गराउने निर्णय लिनु उचित नभएको तर्क गरे ।

आइतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले जनताका लागि अस्पताल, बाटो बनाउन नसक्ने अवस्थामा रहेको देशले अन्य देशका कलाकारलाई आर्थिक सहायता उपलब्ध गराउन उपयुक्त नभएको पनि बताए । सरकारले सो फिल्म अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्वमा काठमाडौंमा आयोजना गर्नका लागि स्वकिृति प्रदान गरेको थियो । त्यसका लागि आर्थिक सहायता पनि उपलब्ध गराउन सरकारले निर्णय लिएको दाबी गर्दै नेता रावलले असन्तुष्टि जनाए ।

उनले नेपाली चलचित्र क्षेत्रका लागि केही बजेट दिन नसक्ने सरकारले भारतीय फिल्म अवार्डका लागि भनेर एक अर्ब बजेट दिन जायज नहुने पनि बताए । नेता रावलले मन्त्रीपरिषद् विस्तार गर्दा पार्टीको नीति अनुसार गर्न पनि सरकारलाई सचेत गराए । सरकार पार्टीको नीति अनुसार चल्न नसकेको पनि नेता रावलको दाबी छ ।