१४ मंसिर २०८१, शुक्रबार
साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी करिव सरकारले १० वर्षपछि भिसा शुल्क बढाएको छ।
पहिले नै मन्त्रिपरिषद्ले पर्यटक, अध्ययन, गैरपर्यटकीय, व्यावसायिक र आवासीय भिसा दस्तुर बढाउने निर्णय गरेको थियो।
गृह मन्त्रालयले पछिल्लोपटक २०६५ साउन १ गतेदेखि नयाँ भिसा शुल्क कार्यान्वयनमा ल्याएको थियो।
अहिले करिव १० वर्षपछि नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले भिसा शुल्क बढाउने निर्णय गरेको हो।
गृह मन्त्रालयले पर्यटकीय भिसाअन्तर्गत १५ दिनको बहुप्रवेशी भिसा दस्तुर ३० डलर पुर्याएको छ। यसअघि १५ दिनको बहुप्रवेशी भिसा शुल्क २५ डलर तिर्नुपथ्र्यो।
त्यस्तै ३० दिनको बहुप्रवेशी भिसा शुल्कमा १० डलर बढाएर ५० अमेरिकी डलर पुर्याएको छ। पर्यटकले यसअघि ३० दिनको बहुप्रवेशी भिसाको ४० डलर तिर्दै आएका थिए। गृह मन्त्रालयले ९० दिनको बहुप्रवेशी भिसा शुल्क ९० बाट बढाएर १ सय २५ डलर पुर्याएको छ।
त्यस्तै शैक्षिक उपाधि प्राप्त हुने गरी अध्ययनरत विद्यार्थी र आश्रित परिवारले प्रतिमहिना ३० डलर तिर्नुपर्नेछ। यसअघि उनीहरूले २० डलर तिर्नुपथ्र्यो। शैक्षिक उपाधि नपाउनेका लागि २५ अमेरिकी डलरबाट बढाएर प्रतिमहिना ७५ डलर पुर्याएको छ।
साथै आवासीय भिसा नवीकरण गर्दा बहुप्रवेशी सुविधासहितको भिसा शुल्कसमेत बढेको बताइएको छ।