१४ मंसिर २०८१, शुक्रबार
नेपाल उद्योग परिसंघले आगामी भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढेको जनाएको छ ।
परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा “दिगो विकासका लागि मजबूत पूर्वाधार” को मूल भावसहित आयोजना गर्न लागेको यो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रुपमा रहने छ ।
लगानी सम्मेलनका क्रममा भएका कानुनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाहरुको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउन समेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा गरिएको छ ।
अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न बृहत् तथा गहन अध्ययन गर्नुपर्ने औल्याएको थियो । यसैमा केन्द्रित गरि परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँग सहकार्यमा त्यस्तो अध्ययन पुरा भई प्रतिवेदन तयार भएको छ । तेस्रो पूर्वाधार सम्मेलनमा यो प्रतिवेदन सार्वजनिक हुनेछ ।
सम्मेलनको तयारी बारे जानकारी दिन आइतबार परिसंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “पूर्वाधारमा गरिने उच्च लगानीको मल्टिप्लायर इफेक्ट अर्थात् बहुआयामिक प्रभावले आर्थिक वृद्धिमा ठूलो योगदान गर्छ । नेपाल सरकारले पनि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेर पूर्वाधार विकासलाई केन्द्रमा राख्ने नीतिले निजी क्षेत्रलाई पूर्वधार विकासमा लगानी बढाउन तथा सार्वजनिक निजी साझेदारीमा ठूला परियोजना विकास गर्न अवसरहरु प्राप्त भइरहेका छन् । यो सम्मेलनमार्फत् पूर्वाधारमा लगानी बढाउने अवसरहरु लिन लगानीकर्ताहरुले ध्यान केन्द्रित गर्ने छन् ।”
दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरुका ५०० भन्दा बढी लगानीकर्ताहरुको सहभागिता हुने छ ।