विकासका एजेण्डामा सरकार र निजी क्षेत्रको एउटै आवाज

होमल्याण्ड खबर

२०७६ भाद्र २७ गते, शुक्रबार १३:२९ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त गर्न सकेमात्र समृद्धिको सपना साकार हुने बताएका छन् । उनले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए । दुई दिने पूर्वाधार सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र सीप आवश्यक रहने बताए ।

उनले निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने भन्दै सरकारले लगानी सुरक्षाको प्रत्याभूति गर्ने र लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह  गरे  ।
नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रंसग उल्लेख गर्दै उनले  विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिनुपर्ने बताए । त्यसैगरी, आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्याउन नसकिएको उनको भनाइ थियो । विकासका एजेण्डामा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा जोड दिँदै उनले  ‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ, लगानीको लागि सबै क्षेत्र खाली छ, आउनुस लगानी गर्नुस्’ भन्दै लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले दिगो पूर्वाधार विकास अहिलेको आवश्कता रहेकोमा जोड दिँदै सम्मेलनमा प्राप्त भएका प्रतिवद्धता कार्यान्वयन हुनेमा आशावादी भएको बताए । सम्मेलनमा प्रस्तुत गरिएका आइडियामध्ये तीन वटा आइडियालाई पुरस्कृत गरिएको  थियो  ।