मेलम्ची खानेपानी आयोजनामा ठूलै आर्थिक चलखेल छः सभापति देउवा

होमल्याण्ड खबर

२०७६ आश्विन ६ गते, सोमबार १५:०० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनामा ठूलै आर्थिक चलखेल गरेको बताएका छन् ।

सोमबार नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को विमोचन कार्यक्रममा बोल्दै सभापति देउवाले विना प्रतिस्पर्धा काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको बताएका हुन् ।

ओली सरकारले शून्य सहनशीलताको कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको दावी गर्दै देउवाले बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि विना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई ठेक्कामा दिएको भन्दै आलोचना गरे ।

विना प्रतिस्पर्धा अघि बढाउन नमिल्ने ती आयोजना अघि बढाएबाट यसमा आर्थिक चलखेल भएको उनको आरोप थियो ।

सोहि कार्यक्रममा बोल्दै महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम समावेश गरिएको सो पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा मात्रै पनि आफ्नो पार्टीले आगामी निर्वाचनमा विजयी हुने दावी गरे ।

पार्टी सभापति देउवालाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने उनले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्तामा समेत जोड दिए ।