लुटिएको रकम ५० लाखमात्र हो: राष्ट्र बैंक

होमल्याण्ड खबर

२०७६ आश्विन ८ गते, बुधबार ११:५६ मा प्रकाशित

तीन दिनयता कृषि विकास बैंकबाट ठूलो मात्राको रकम लुटिएको छ । बैंककै कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्स्फर गरिएको बताइएको छ ।

तर, लुटिएको रकम यकिन हुन नसक्दा अनुसन्धानका लागि असहज भएको छ । रकमको परिमाण कतै डेढ करोड त कतै ४ देखि ५ करोड रुपैयाँसम्म रहेको विभिन्न स्रोतबाट आएको बताइएको छ ।

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट यसबारे जानकारी लिँदा लुटिएको रकम ५० लाख रुपैयाँ रहेको खुलेको छ । कृषि विकास बैंकले नेपाल राष्ट्र बैंकलाई पठाएको औपचारिक पत्रमा ५० लाख रुपैयाँमात्र लुटिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले  भने, “५० लाखमात्र लुटिएको भनेर कृषि विकास बैंकबाट पत्र प्राप्त भएको छ । तर, सञ्चारमाध्यममा डेढ करोड त कतै ४–५ करोडसम्म छापिएका छन् ।”

उनका अनुसार रकम लुटकाण्डमा कर्मचारीको नै मिलेमतो भएको आशंका गरिएको छ । बैंकको लाहान शाखाका कर्मचारीको युजरनेम र पासवर्ड प्रयोग गरेर त्यही कम्प्युटर वा अन्य कम्प्युटरबाट गरेजस्तो देखिने गरी रकम ट्रान्स्फर भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरीले पनि सिस्टम ह्याक गरेर भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरी अन्तैबाट रकम ट्रान्स्फर गरिएको आशंका गरेको छ । रकम निकालेको आशंकामा राजधानीबाट केही व्यक्ति पक्राउ परिसकेका छन् ।

पक्राउ पर्नेमा सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङ, पुष्पराज खड्कालगायत १० जना रहेको प्रहरी स्रोतले जानकारी दियो । कैलालीबाट एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एकजना रेमिट्यान्सका कर्मचारी पनि रहेका छन् । धादिङ, कीर्तिपुर, सिराहा र कैलालीबाट गरी १० जना पक्राउ परेका हुन् । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनीहरुको साथबाट ३१ लाख नगद बरामद गरिएको छ ।

लुटिएको रकम बैंकको खाताबाट व्यक्तिको नाममा ट्रान्स्फर गरिएको हो । कोर बैंकिङ प्रणाली प्रयोग गरी रकम व्यक्तिको नाममा राख्ने काम कर्मचारीबाटै हुनसक्ने आशंका गरिएको छ ।