पशुपति आर्यघाटमा शव अन्त्येष्टि शुल्क बढ्यो, कति छ त अहिले शुल्क ?

होमल्याण्ड खबर

२०७६ कार्तिक ६ गते, बुधबार १६:०६ मा प्रकाशित

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । शव दाह गरेको शुल्कमा पहिला भन्दा ३ सय रुपैयाँ बढेको छ । पहिले १२ सय रहेको शवदाह शुल्क अब १५ सय पुगेको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट बढाइएको हो ।

यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क लाग्थ्यो । चपरी बोक्ने शुल्क ३ सयबाट बढेर ४ सय रुपैयाँ पुगेको छ ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले अन्तिम संस्कारका कार्यमा संलग्न नहुने घोषणा गरे लगत्तै पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो।

आन्दोलनरत पक्षले समयानुकुल पारिश्रमिक वृद्धि, अवकाश हुँदा पाउने उपदानमा वृद्धि, स्वास्थ्य बिमाको व्यवस्था तथा काम गर्न सुरक्षित उपकरणको व्यवस्था हुनुपर्ने लगायतका माग अघि सारेरबुधबार बिहानदेखि आन्दोलनको घोषणा गरेका थिए।

पशुपति क्षेत्र विकास कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा महाशाखामा भएको दुईपक्षीय वार्तामा सहमति जुटेपछि उनीहरुले आन्दोलन फिर्ता लिएका छन्।

शवलाई गाड्नका लागि खाल्डो खन्ने शुल्क पनि १२ सयबाट बढेर १५ सय रुपैयाँ पुर्‍याइएको छ ।