नयाँ बसपार्कदेखि सिनामंगलसम्म थप सत्र ठूला बस सञ्चालन हुने

होमल्याण्ड खबर

२०७४ चैत्र २५ गते, आईतवार ०५:५५ मा प्रकाशित

दिगो सार्वजनिक यातायात प्रालिले नयाँ बसपार्कदेखि सिनामंगलसम्म सत्र ठूला बस सञ्चालनमा ल्याउने भएको छ । प्रालिले सिनामंगल सफा परिवहन समिति र सामाखुशी यातायात व्यवसायी समितिको संयुक्त लगानीमा नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्म सत्र नयाँ बस सञ्चालन गर्न भएको हो ।
सामाखुशी यातायात व्यवसायी संघले रु सात करोडको लगानीमा ५० सिट क्षमता भएका सत्र ठूला बस सञ्चालन गर्न लागेको जनाएको छ । सामाखुशी भएर चल्ने माइक्रोलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको हो । सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैँकले रु एक करोड ९० लाख अनुदान दिएको छ । बस वैशाखको अन्तिम हप्ता नेपाल आइसक्ने र जेठको पहिलो हप्ताबाट सञ्चालन हुने सामाखुशी यातायात व्यवसायी संघले बताएको छ । नयाँ बस सञ्चालनका लागि दुवै समिति तथा प्रालिको टोली बस ल्याउनका लागि भारत गइसकेका छन् ।