ए डिभिजन लिगः मछिन्द्र र मनाङका ३/३ खेलाडी परे कारबाहीमा

होमल्याण्ड खबर

२०७६ पुष २५ गते, शुक्रबार १२:१७ मा प्रकाशित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणको खेलमा मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेल लगत्तै भएको झगडालाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ खेलाडीलाई कारवाही गरेको छ ।

पछिल्लो समय अनुशासनको बिषयमा कडा निर्णय गर्दै आएको एन्फाले दुवै क्लबका ३/३ खेलाडी र मनाङका एक अफिसियललाई कारवाही गर्दै लिग खेलमा प्रतिबन्ध सहित आर्थिक जरिवाना गर्ने निर्णय गरेको हो ।

गत मंगलबार लिगमा मनाङ र मछिन्द्र मैदान उत्रिएका थिए । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए । खेल लगत्तै दुवै टिमका खेलाडी विवादमा उत्रदै मैदानमा झगडा गरेका थिए ।

खेलाडी हातपातमा उत्रिएपछि प्रहरी लगाएर मैदान खाली गराउनु गरेको थियो ।

एन्फाले बिहीबार आफ्नो वेबसाइटमा सूचना जारी गर्दै मनाङका जगजित श्रेष्ठ र अशोक बराललाई ५/५ खेल तथा अन्य ४ खेलाडीलाई २/२ खेल प्रतिबन्ध लगाएको जनाएको छ । जगजित र अशोकले जनही १० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने भएको छ । अशोकले उक्त खेलपछि रातो कार्डसमेत पाएका हुनाले उनले ६ खेल गुमाउनेछन् । मनाङका रंजन विष्टलाई पनि २ खेल प्रतिबन्ध लगाइएको छ । मनाङकै रञ्जन विष्टलाई दुई खेलको प्रतिबन्ध गरिएको छ ।

यस्तै, मछिन्द्रका दिपक राई, देबेन्द्र तामाङ र विजय धिमाललाई समान २ खेलको प्रतिबन्ध गरिएको छ ।

मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार जरिवाना गरिएको छ ।

एन्फाले दुवै क्लबलाई समान ५० हजार जरिवाना समेत गरेको छ ।