९ मंसिर २०८१, आईतवार
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको गार्हस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको कृषि क्षेत्र उपेक्षित भएको भन्ने गुनासोलाई सम्बोधन गर्न कृषि विकास बैंकलाई लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । बैंकको ५३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै डेपुटी गभर्नर शिवाकोटीले यस्तो कुरा बताएका हुन् । बैंकका सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेजुवालले बैंकले हाल ग्राहकको आवश्यकता र मागलाई ध्यानमा राखी सबै प्रकारका वाणिज्य बैङ्किङ सेवा प्रदान गर्दै आएको जानकारी दिए । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कृषि क्षेत्रलाई नछोड्ने अरु क्षेत्रलाई जोड्ने नीतिका साथ बैंकले मुलुकका २७४ शाखालाई सूचना प्रविधिमा जोडेर काम गरिरहेको बताए ।
पूर्वअध्यक्ष श्रीकृष्ण उपाध्यायले ‘नेपाली जनताको घर आँगनको बैंक, कृषि विकास बैंक’ भन्ने नारालाई सफल तुल्याउन बैंकलाई आधुनिक र अग्रणी बैंकको रुपमा स्थापित गर्ने ढङ्गबाट कार्यक्रम बनाएर अघि बढ्न पदाधिकारी र कर्मचारीलाई सुझाव दिए । बैंकर्स एशोसिएशनका अध्यक्ष भुवन दाहालले बैंकलाई कृषि क्षेत्रमा ठूला आयोजनाका लागि लगानीको नेतृत्व गर्न सुझाव दिए । उक्त समारोहमा बैंकको एक लाख ४२ हजार ऋणीमध्ये उत्कृष्ट कारोवार गर्ने, बैंकमा लामो समय सेवा गरेका र पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।
कर्जा प्रवाह १४ अर्बले बढ्यो
बैंकले गत पुस मसान्तसम्म कूल १२७ अर्ब निक्षेप र ११७ अर्ब प्रवाह गर्न सफल भएको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप १८ अर्ब र कर्जामा रु १४ अर्ब वृद्धि भएको बैंकले जनाएको छ । बैंकले सहुलियतपूर्ण कृषि कर्जातर्फ दुई हजार ५०० बढी ग्राहकलाई रु ५ अर्ब भन्दा बढी लगानी गरेको छ । बैंकको सञ्चालन मुनाफा ८ प्रतिशतले बढेर रु ५३४ करोड पुगेको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले जानकारी दिए । हाल बैँकले निष्क्रिय कर्जा ३।२९ प्रतिशतमा राख्न सफल भएको छ । बैंकको आव २०७५/७६ को वार्षिक साधारणसभा पश्चात अधिकृत पूँजी रु २१ अर्ब र कूल चुक्ता पूँजी रु १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार छ । नयाँ वर्ष २०७६ को शुभारम्भसहित सरकारले ल्याएको सबै नागरिकको बैंक खाता अभियालनलाई कृषि विकास बैंकले महत्वपूर्ण टेवा पुर्याएको छ । त्यसअन्तर्गत हालसम्म ५२ हजारभन्दा बढी जनताको बचत खाता खोलिएको बैंकले जनाएको छ । बैंकले आफ्ना शेयरधनीलाई नगद लाभांश २४ प्रतिशत र बोनश शेयर ६ प्रतिशत गरी ३० प्रतिशत लामांश वितरण गरेको छ । बैंकबाट प्रवाह गरिएको कर्जामध्ये ८० प्रतिशत १० लाखभन्दा कमका रहेका छन् । कृषिका साथै पर्यटन, जलविद्युत्लगायत उत्पादनमूलक एवं प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ । कृषि क्षेत्रको माध्यामबाट समग्र मुलुकको विकास गर्ने उद्देश्यले २०२४ माघ ७ गते बैंकको स्थापना गरिएको थियो । समारोहमा ‘बैंक समाचार’ विशेषाङ्कको विमोचन गरिएको थियो ।