९ मंसिर २०८१, आईतवार
हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बैंकको बुधबार सम्पन्न साधारण सभामा उनी सदस्यमा छानिएका थिए । गौतम कर्मचारी सञ्चय कोषका प्रमुख हुन् ।
बैंकमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) लाई भित्र्याउन नेपाल राष्ट्र बैंकको निर्देशनमा सञ्चालक समितिको निर्वाचन भएको थियो । पाँच जना नयाँ सञ्चालक सदस्य छानिएपछि करिब १५ वर्षदेखि अध्यक्ष रहँदै आएका मनोजबहादुर श्रेष्ठ बाहिरिए । बैंकमा सीडीसीलाई भित्र्याउन नदिने खेल भएको भन्दै राष्ट्र बैंकले निर्वाचन गराउन लिखित रूपमा निर्देशन दिएको थियो ।
बैंकको सञ्चालकमा खेतान समूहको प्रतिनिधि भएर आशिष शर्मा सञ्चालक समिति सदस्य भएका छन् ।
बैंकमा रहेको पाकिस्तानी बैंक हबिबको २० प्रतिशत सेयर किनेर सीडीसी नेपाली बैंकिङ क्षेत्रमा प्रवेश गर्न खोजेको छ । बैंकमा २६ वर्षदेखि साझेदारी गरिरहेको हबिबले आफ्नो सेयर सीडीसीलाई बिक्री गर्न खोजेको छ ।
बैंकमा हबिबको २० प्रतिशत, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत लगानी रहेको छ । यस्तै एन ट्रेडिङ कम्पनीको १२.७१, म्युचुअल ट्रेडिङ कम्पनीको ११.८५ प्रतिशत, आभा इन्टरनेसनल प्रालिको ११.३८ प्रतिशत, छाया इन्टरनेसनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ ।