अडियो प्रकरणबारे मन्त्री बाँस्कोटाको जवाफ– गल्ती गरे मै जाउँला

होमल्याण्ड खबर

२०७६ फाल्गुन ८ गते, बिहीबार ११:०७ मा प्रकाशित

सरकारका प्रवक्ता सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा विवरणमा आएको कमिशन माग सम्बन्धीको अडियो रेकर्डबारे सरकारको नियमित पत्रकार सम्मेलनका बेला विस्तृत जवाफ दिने बताएका छन् ।

जुन कामै गरेको छैन, त्यस विषयमा आएको अडियो रेकर्डले खासै फरक नपार्ने बताएका उनले यस्ता अफर अनेक हिसाबले आउने गरेको पनि टिप्पणी गरेका छन् । आफूले कमिशन वा रकम लिएको भए त्यसको भागीदार बन्नुपर्ने तर खाँदै नखाएको विष नलाग्ने पनि उनको दाबी छ ।

यसैबीच, कार्यक्रमका दौरान कञ्चनपुर जिल्लामा रहेका मन्त्री बाँस्कोटाले व्यक्तिमाथिको आरोपले व्यक्तिलाई नै असर गर्ने भएकाले यसको जवाफ काठमाडौंमा नै दिने बताए । उनले आफूले गल्ती गरेको प्रमाणित भए त्यसको सजाय भोग्न तयार रहेको बताउँदै भने,‘व्यक्तिले गरेको गल्तीका लागि पार्टी जाँदैन, मैले गल्ती गरेको छैन । गल्ती गरेको भए म जाउँला ।’

सत्तामा हालीमुहाली गर्न नपाएका विभिन्न शक्ति कुनै न कुनै रुपमा कम्युनिस्टमाथि आक्रमण गर्न उद्दत रहेको दाबी गर्दै अडियो प्रकरण पनि यसैको निरन्तरता रहेको उनको भनाई थियो ।