बाँस्कोटामाथि अख्तियारद्धारा बयान लिने तयारी

होमल्याण्ड खबर

२०७६ फाल्गुन ९ गते, शुक्रबार १६:०३ मा प्रकाशित

७० करोड कमिशन मागेको अडियो लिक भएसँगै राजीनामा दिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानीमा राखेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोडको कमिसन डिल गरेको अडियो सार्वजनिकपछि बाँस्कोटाले राजीनामा गरेका थिए ।

अख्तियारले सत्यतथ्य र प्रमाण नष्ट हुनसक्ने खतरा महसुस गर्दै बाँस्कोटालाई निगरानीमा राखेको हो ।

सम्पूर्ण कागजात अख्तियारले लिइसकेको र बाँस्कोटालाई छिटै बयान लिने तयारी गरिरहेको पनि जनाइएको छ ।

बाँस्कोटाले स्वीस कम्पनीका नेपाली एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग प्रेस खरिद प्रक्रियामा ७० करोड कमिसन मागेको अडियो वुधबार सार्वजनिक भएसँगै बिहीबार बाँस्कोटाले राजीनामा दिएका थिए ।