तेजाब प्रहार गर्नेलाई आठ वर्ष कैद, एक करोड १४ लाख उपचार खर्च भराउने

होमल्याण्ड खबर

२०७६ फाल्गुन १६ गते, शुक्रबार १०:११ मा प्रकाशित

जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ ।

साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख ८५ समेत पीडकबाट भराउन तथा पीडकबाट सम्भव नभए राज्यको कोषबाट भए पनि उपलब्ध गराउन अदालतले आदेश दिएकोे छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले बिहीबार सो आदेश दिएको अदालतले जानकारी दिएको छ ।

अदालतले कंशाकारमाथि तेजाब प्रहार गर्ने केशरीलाई भगाउन सहयोगी भूमिका निर्वाह गरेको भन्दै हेटौँडाका सञ्जय मण्डललाई दुई वर्ष छ महिना कैद सजायसहित ४० हजार जरिवाना गर्ने निर्णय गरेको जनाइएको छ ।

विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै केशरीले कंशाकारमाथि विसं २०७० वैशाख ९ गते पसलमा बसिरहेको समयमा तेजाब प्रहार गरेका थिए ।

प्रहारपछि मण्डलको मोटरसाइकल चढेर केशरी भागेका थिए । वीरगञ्ज हुँदै भारत भागेका उनीलाई छ वर्षपछि मकवानपुर प्रहरीले भारतबाटै पक्राउ गरेर ल्याएको थियो ।

आक्रमणबाट अनुहार तथा शरीरको अन्य भागमा गम्भीर असर पुगेको कंशाकारले नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै आइरहेकी छिन् । रासस