राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुभारम्भ

होमल्याण्ड खबर

२०७५ बैशाख १९ गते, बुधबार ०८:४८ मा प्रकाशित

सरकारी स्वामित्वको दुई बैंकहरु राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंक गाभिएर आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवारज खतिवडाले दुई बैंकको एकीकृत कारोबारको सुभारम्भ गरेका छन् । दुई बैंक गाभिएपछि राष्ट्रिय वाणिज्य बैंकको नाममा कारोबार गर्नेछ । गाभिएपछि बैंकको १९१ शाखा कार्यालय, चुक्ता पूँजी ९ अर्ब ४७ लाख रुपैयाँ, जगेडा तथा कोषहरु ८ अर्ब ३० करोड ५६ लाख र कुल सम्पत्ति १ खर्ब ८२ अर्ब ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको कुल निक्षेप १ खर्ब ५४ अर्ब १७ करोड ६३ लाख, कर्जा तथा सापट १ खर्ब, १५ अर्ब ७३ करोड ९ लाख ८७ हजार र खुद नाफा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ भएको छ ।
सो कार्यक्रममा अर्थमन्त्री खतिवडाले दुई सरकारी बैंक गाभिएपछि वित्तीय रुपमा थप बलियो र प्रतिस्पर्धी हुनुपर्ने बताए । उनले वित्तीय प्रणालीमा हुने अपराध असहृय हुने र गलत कार्य गरेमा सरकारले कसैलाई नछोड्ने धारणा राखे ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी बैंक भएकोले राष्ट्रिय वाणिज्य बैंकले अगुवा बैंकको रुपमा कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले दुई बैंक गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक वृद्धि हुने, बैंकको पूँजीकोष बृद्धि भई देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान दिन सक्ने बताए ।