१० मंसिर २०८१, सोमबार
कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । विश्वव्यापीरूपमा कोरोनाको सङ्क्रमण फैलिएपछि नेपालबाट दुवैतर्फी उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले आफ्नो उडानमा कटौती गरेका हुन् । पछिल्ला दिनमा दिनहुँजसो अन्तर्राष्ट्रिय उडानमा कटौती भइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । उनका अनुसार विमानस्थलमा सामान्य अवस्थामा अन्तर्राष्ट्रियतर्फ दैनिक ४५ देखि ५० उडान हुने गरेकामा मंगलबार २९ वटा मात्रै उडान भएका छन् । सोमबार ३० वटा अन्तर्राष्ट्रिय उडान भएको थियो ।
विमानस्थलबाट दुवैतर्फी उडान र अवतरण गर्दा दैनिक सरदर ९५ देखि ९० अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । कोरोनाको प्रभावले हवाई यात्रु घटेपछि हवाई कम्पनीले पनि उडान क्रमशः कटौती गर्न थालेका हुन् । यात्रु कम भएपछि वायु सेवा प्रदायकले धमाधम उडान कटौती गर्न थालेको महाप्रबन्धक केसीको भनाइ छ । उनले भने, “दुई दिनयता अन्तर्राष्ट्रिय उडानमा भारी कटौती भएको छ । अझै केही दिन यही प्रक्रिया जारी रहने अवस्था छ ।”