सीमा र हवाई मार्गमा आवत जावत मात्र बन्द, दैनिक उपभोग्य सामान रोकिदैनः खनाल

होमल्याण्ड खबर

२०७६ चैत्र ६ गते, बिहीबार १३:४५ मा प्रकाशित

नेकपाका वरिष्ठ एवं पूर्वप्रधानमन्त्री नेता झलनाथ खनालले पार्टीले अहिलेको संकटपूर्ण अवस्थामा सरकारलाई दाँयबाँया जान नदिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले केही कठोर निर्णयहरू अझै हुन बाँकी रहेकाले यस विषयमा पार्टीले आन्तरिक र अन्य दलहरूसंग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

खनालले पार्टीले सरकारका कामकारवाहीलाई नजिक र गम्भीर रुपमा हेरिरहेको बताए । उनले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना संक्रमणबाट नेपाललाई जोगाउनका लागि अझै कठोर र महत्वपूण निर्णयहरू गर्न बाँकी रहेको बताए ।

उनले सरकार, पार्टी नागरिक समाज र आज जनता कोही पनि अहिले ढुक्कभएर बस्न सक्ने अवस्था नरहेको भन्दै अहिले अवस्था राजनीतिक दोषरोपण र अर्कोको आलोचना गर्नेभन्दा कसरी जाँदा राम्रो हुन्छ त्यो खालको सुझाव सरकारलाई आवस्यक भएको बताए ।

उनले सीमा र हवाई मार्गमा मानव आवत जावत मात्र बन्द गरिने भएकाले दैनिक उपभोग्य समान नरोकिने बताए ।

उनले अहिले सरकारले हेर्नुपर्ने भनेको जनतालाई कुनै कुरा अभाव हुन नदिने र कोरोना संक्रमणलाई नेपाल भित्रन नदिने काम मुख्य भएको र यसलाई अझ प्रभावकारी बनाउन पार्टीको सचिवालय बेठक बसिरहने बताए ।