ऋण लिएकाहरुलाई चैत महिनाको ब्याज छुट सहित अन्य सुबिधाहरु

होमल्याण्ड खबर

२०७६ चैत्र १७ गते, सोमबार १२:०१ मा प्रकाशित

देश विषम परिस्थितिबाट गुज्रिएको बेला उद्योग व्यवसायीहरुलाई राहत दिन नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ ।  वित्तीय संस्थाबाट ऋण लिएकाहरुले चैत मसान्तमा तिर्नुपर्ने साँवाब्याज तिर्न नपर्ने व्यवस्था गर्दै रास्ट्रबैंकले ऋणिहरुलाई केही रहात उपलब्ध गराएको हो । यो ब्यवस्थाबाट विशेषगरि उद्योगी ब्यवसायीहरु लाभान्वित हुनेछ्न।

बैंक तथा वित्तीय संस्थाहरुको नाममा परिपत्र जारी गर्दै चैत मसान्तमा गर्नुपर्ने सबै भुक्तानीलाई असार मसान्तसम्म भुक्तानी गर्न सकिने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यसैगरी चैत मसान्तमा गर्नुपर्ने  भुक्तानी असार मसान्तसम्म गर्दा त्यसको ब्याजको पुँजीकरण गरिने छैन भने चैत्रमै भुक्तानी गर्न चाहनेलाई ऋणीलाई बैंकहरुले ब्याज रकममा १० प्रतिशत छुट दिनुपर्नेछ ।

चैत मसान्तमै भुक्तानी गर्नुपर्ने छोटो समयका लागि दिइने चालु पुँजी प्रकृतिको कर्जाका लागि पनि ६० दिनको म्याद थप गरिएको छ । रास्ट्रबैंकको निर्णय अनुसार चैत मसान्तमा नउठेका कर्जाहरुको हकमा त्यस्तो कर्जालाई शुक्ष्म निगरानीमा राखेर प्रोभिजनिङ गर्नु पर्ने छैन । चैत मसान्तमा साँवा ब्याज नउठाउन भनेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न सहुलियत  समेत दिएको छ ।