सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

होमल्याण्ड खबर

२०७७ जेष्ठ १५ गते, बिहीबार १७:२९ मा प्रकाशित

सरकारले सुरक्षाकर्मीको पोषाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ। आगामी बर्षको बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले स्वदेशमै उत्पादनको व्यवस्था मिलाइने बताएका छन्। यस्तै, सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका र रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि आवश्यक रकमको व्यवस्था गरेको छ।

अर्थमन्त्री खतिवडाका अनुसार संगठित क्षेत्रको श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरका लागि सरकारले व्यहोर्ने भएको छ। सो रकम सम्बन्धित प्रतिष्ठानले तत्काल श्रमिकको पारिश्रमिक भुक्तानीका लागि सापटीको रुपमा प्राप्त गर्नसक्ने र व्यवसाय सहज भएपश्चात् कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने खतिवडाले बताए।