१३ मंसिर २०८१, बिहीबार
काठमाडौं । अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको विद्युतगृहबाट उत्पादिन विद्युत बन्द भएको हो । अविरल वर्षाका कारण विद्युत् करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको छ,’ उनले भने ‘बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको छ ।’
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृह आज शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको वहाव झन् बढेर आएकाले विद्युत्गृह कतिबेला संचालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए ।
प्राधिकरणकाअनुसार ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत् उत्पादन भएको छ । भारी वर्षाका कारण इलामको सिद्धी थुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको हो । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुडिने, रुखहरू ढल्दा विद्युत लाइनमा क्षति पुगेको हो ।
‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं’, घिसिङले भने । ‘आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।’ ‘बन्द रहेका विद्युत्गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिए ।