मौद्रिक नीति आज सार्वजनिक हुँदै

होमल्याण्ड खबर

२०७७ श्रावण २ गते, शुक्रबार ११:३६ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैकले चालु आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ ।  राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बोर्ड पदाधिकारीको उपस्थितिमा आज दिउँसो ३ बजे मौद्रिक नीति सार्वजनिक गर्दै हुनुहुन्छ ।

केन्द्रीय बैंकले कोरोनाभाइरसबाट प्रभावित उद्योग, व्यवसायलाई विशेष सम्बोधन गर्नेगरी मौद्रिक नीति सार्वजनिक गर्न लागेको जनाएको छ । आज बिहान बसेको बोर्ड बैठकले मौद्रिक नीतिलाई अन्तिम रुप दिएको हो । यो वर्षको मौद्रिक नीति विशिष्ट परिस्थितिलाई सम्बोधन गर्ने गरी आउन लागेको हुँदा सबैले चासोका साथ लिएका छन् ।

यो अघिल्ला मौद्रिक नीति भन्दा फरक हुने छ । बजेटले खासै सम्बोधन नगरेको भन्दै समग्र आर्थिक क्षेत्रले मौद्रिक नीतिमा निकै ठुलो आश गरेका छन् । यो मौद्रिक नीति नयाँ गभर्नर अधिकारीको पहिलो परीक्षा पनि हो । उहाँले ल्याउने नीतिले आगामी दिनमा आर्थिक क्षेत्रलाई कहाँ पुर्याउने भन्ने निर्धारण गर्नेछ । चालु आर्थिक वर्षको वित्तीय स्थायित्व कायम गर्ने उद्देश्यले राष्ट्र बैंकले नीति ल्याउन लागेको जनाएको छ ।

सरकारले लिएको आर्थिक नीतिलाई सघाउ पुर्याउने उद्देश्यले केन्द्रीय बैकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्दछ । सरकारले जेठ १५ मा ल्याएको बजेटले सम्बोधन गरेको विषयलाई सघाउन यो मौद्रिक नीति सार्वजनिक हुँदैछ । विशेष परिस्थिति भन्दै यसपालीको मौद्रिक नीति सार्वजनिक हुँदैगर्दा सरकारी संचारमाध्यमबाहेक अरु संचारसंस्था र निजी क्षेत्रका उद्योगी व्यवसायीलाई उपस्थिति नगराइने राष्ट्र बैंकले जानकारी दिएको छ ।