निषेधाज्ञामा समेत शेयर बजार बन्द नगर्ने निर्णय

होमल्याण्ड खबर

२०७७ भाद्र ३ गते, बुधबार १४:४६ मा प्रकाशित

काठमाडौ । काठमाडौं उपत्यकामा  आज मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएपनि शेयर बजार भने  बन्द नहुने भएको छ । आज अर्थमन्त्रालयमा भएको छलफलपछि नेपाल धितोपत्र बोर्ड शेयर बजार खोल्ने निर्णयमा पुगेको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले निषेधाज्ञामा पनि बजार नियमित रूपमा खोलिने जानकारी दिए ।

‘यसअघि ठूलो अवरोध नआएसम्म बजार बन्द नहुने निर्णय गरिएको थियो, त्यसैलाई निरन्तरता दिइएको ढुंगानाको भनाई छ । शेयरबजारका लगानीकर्ता समेत बजार बन्द गर्न नहुने पक्षमा उभिएका छन् । गत चैत ११ गतेदेखि करिव ४ महिना लकडाउन हुँदा नेप्से ९८ दिन बन्द भएको थियो ।

काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि एक साताका लागि निषेघाज्ञा जारी निर्णय गरेपनि शेयर बजार कारोबारले निरन्तरता पाउने भएको हो । मंगलबार विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ को संक्रमण काठमाडौं उपत्यका भित्र  बढिरहेको भन्दै तीन जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो ।