कोरोना भाइरसविरुद्धको खोपको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने

होमल्याण्ड खबर

२०७७ भाद्र १७ गते, बुधबार १४:०१ मा प्रकाशित

एजेन्सी । अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको विकास तथा वितरणको व्यवस्थाका सम्बन्धमा विश्व स्वास्थ्य संगठन डब्लुएचओसँग सहकार्य नगर्ने भएको छ ।

डब्लुएचओको अगुवाईमा हुन लागेको अन्तर्राष्ट्रिय छलफलमा अमेरिका सहभागी नहुने भएको हो।

कोरोना भाइरसको महामारी नियन्त्रणमा डब्लुएचओको भूमिकालाई लिएर अमेरिका डब्लुएचओसँग रुष्ट हुँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओको भूमिकामाथि नै प्रश्न गर्दैै आएका छन्। सोही कारण ट्रम्पले अमेरिका डब्लुएचओबाट बाहिरिने घोषणा गरेका थिए।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टका अनुसार डब्लुएचओको अगुवाईमा सुरक्षित तथा प्रभावकारी खोपको विकास तथा समान वितरण व्यवस्थाबारे चर्चाका लागि हुने १७२ देश सहभागी हुने छन् । तर अमेरिका भने त्यसमा सामेल हुने छैन ।

डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन्। यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओले जनाएको छ।

सम्भावित खोपको परीक्षण पूरा भएर सर्वसाधारणको प्रयोगका लागि तयार भएपछि आर्थिक अवस्था कमजोर भएका देशका नागरिकले पनि पाउने गरी वितरण व्यवस्था मिलाउने प्रयास स्वरुप डब्लुएचओले अन्तर्राष्ट्रिय तहमा छलफल गरिरहेको छ । सोही क्रममा अब हुने अन्तर्राष्ट्रिय छलफलमा पनि अमेरिका सहभागी नहुने भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओ चीनको ‘कठपुतली’ बनेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्