तरकारीको मूल्य झन- झन आकासिंदै, प्रतिकिलो १ सय रुपैयाँ माथि

होमल्याण्ड खबर

२०७७ आश्विन ४ गते, आईतवार ११:२३ मा प्रकाशित

काठमाडौं । कोरोना महामारीको सन्त्रासकै बीचमा लकडाउन खुकुलो बनाइए पनि उपभोक्ताको भान्सामा धेरै खपत हुने अधिकांश तरकारीको मूल्य भने दिनहुँ उकालो लागिरहेको छ । पछिल्लो समय उपत्यकामा अधिकांश हरियो तरकारीको मूल्य प्रतिकिलो १ सय रुपैयाँमाथि पुगेको छ ।

लकडाउन खुकुलो भएर ढुवानी सहज भएपनि बजारमा तरकारीको मूल्य बढिरहेको पाइएको हो । मागको तुलनामा आपूर्ति २५ देखि ३० प्रतिशत कम भइरहेकोले तरकारीको मूल्य वृद्धि भएको व्यवसायीको तर्क छ । गत चैत ११ देखिको निरन्तरको लकडाउनले आम्दानी खुम्चिरहेका अवस्थामा तरकारी महँगो हुँदा उपभोक्ताले मार खेप्नुपरेको छ ।

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले दैनिक औसतमा ७–८ सय टन तरकारी आउने कालीमाटी फलफूल तथा तरकारी बजारमा निषेधाज्ञा यता ५ सयदेखि ५ सय ५० टनसम्म मात्र आपूर्ति भइरहेको बताउनुभयो । ‘किसानले सबै तरकारी उत्पादन घटाएकोले आपूर्ति नै करिब २ सय टनका दरले घट्दा मूल्यमा चाप परेको हो,’ उहाँले भन्नुभयो ।

सरोकारवाला सरकारी निकायहरुले भने तरकारी बजारमा अनुगमन तीव्र पारिएको र दोषी व्यवसायीलाई कारबाही गर्ने गरिएको बताएका छन् । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले उपभोक्तालाई असहज हुने गरी भएका व्यापारिक क्रियाकलापमा अनुगमन केन्द्रित गरिएको बताउनुभयो । उहाँले आलु, प्याज लुकाउने र बढी मूल्य असुल्ने व्यवसायीलाई कारबाही थालिएको पनि प्रष्ट पार्नुभयो ।