९ मंसिर २०८१, आईतवार
बोनस र हकप्रद सेयरको आधार मूल्यको आधारमा लाभकर लगाउने सरकारको निर्णयको विरोधमा आज पनि सेयर कारोबार ठप्प गरिएको छ । आन्दोलनकारीलाई आफ्नो साथ नभएको ब्रोकर व्यवसायीले जनाए पनि आन्दोलनकारी लगानीकर्ता आज ब्रोकर कार्यालयमा धर्ना दिने भएका छन् ।
बुधबारको विरोध कार्यक्रमअनुसार अहिले आन्दोलनकारी लगानीकर्ता ब्रोकर नं. ५० कञ्चनजंघा सेक्युरिटिजमा गएर धर्ना दिइरहेका छन् । यसका साथै ब्रोकर कार्यालय सञ्चालक तथा ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष प्रियराज रेग्मीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेयर लगानीकर्ता आन्दोलनको नेतृत्व गर्नेमध्ये एक सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिएका छन् ।
भेटमा बुधबारको कारोबार नगर्न नगराउन आग्रह गर्ने तथा त्यहाँ कारोबार ठप्प पारेर अन्य ब्रोकरको पनि कारोबार ठप्प पार्ने उनले बताए ।
यसअघि सेयर कारोबार ठप्प पार्ने लगानीकर्ताको आन्दोलनमा आफूहरुले कुनै साथ नदिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालले जनाएको छ । करोबार ठप्प हुनुमा धितोपत्र दलालको सहभागिता रहेको समाचारको एसोसिएसनले विज्ञप्ति जारी गरेर खण्डन गरेको हो । सेयर खरिद गर्न दलाल कार्यालय खुल्ला रहेको र खुल्ला नै रहने विज्ञप्तिमा उल्लेख छ ।
आजै, आन्दोलनकारी सेयर लगानीकर्ता अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने छन् । कारोबार ठप्प पारेपछि मन्त्रालयले व्यवसायीलाई बोलाएको हो । मन्त्रालयले हिजो कर अध्ययनका लागि एक समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कदम चालिने मन्त्रालयको दावी छ ।