१३ मंसिर २०८१, बिहीबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को दाहाल–नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार अनेरास्ववियूले कोरोना कहर र लकडाउनका कारण मारमा परेका जनतालाई सहुलियत दिनुको सट्टा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि गरिएको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा मूल्यवृद्धि गर्ने तर मूल्य घट्दा नेपालमा नघटाउने प्रवृति रहेको उल्लेख छ । यस्तै निगम घाटामा गएको भन्दै करोडौं रकम बाँड्ने गरेको पनि ज्ञापन पत्रमा उल्लेख छ ।
दुई रंगको सिलिन्डर बनाएर विद्यार्थीलाई सहुलियतपूर्ण दरमा ग्याँस उपलब्ध गराउने सहमति भएपनि निगमले कार्यान्वयन नगरेको विद्यार्थीहरुले बताएका छन् । पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न र विद्यार्थीलाई सहुलियत दिने पूर्वसहमति कार्यान्वयन विद्यार्थीहरुले माग गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले बिगत तीन महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भइरहेको बताए । आयल निगम निरन्तर नोक्सानमा गएकाले मूल्य वृद्धि भएको पौडेलले बताए । ज्ञापन पत्र बुझाइसकेपछि आयल निगम बाहिर भएको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले पेट्रोलियम पद्धार्थमा भएको मूल्यवृद्धि अस्वीकार्य रहेको बताए ।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि भएपनि ५-७ महिना मूल्य स्थिर राख्न सक्ने क्षमता आयल निगमसँग हुँदाहुँदै मूल्यवृद्धि गरिएको बताए । ४८ घण्टा भित्रमा मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत तामाङले दिए ।
विद्यार्थीहरुले पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने भन्दै आयल निगम अगाडि नाराबाजीसमेत गरेका थिए । निगमले मंगलबार रातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ । यस्तै डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ ।