माधव समूहका विद्यार्थीद्वारा आयल निगम घेराउ

होमल्याण्ड खबर

२०७७ चैत्र २३ गते, सोमबार १६:०१ मा प्रकाशित

नेकपा एमालेका नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शनपछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसमक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण भएको बताए ।

मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभइ जनसमुदायमाथि सीधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने पराजुलीले बताए ।

यस्तै, उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।