देवः विकास बैंकको शाखा नेपालगञ्ज र कोहलपुरमा

होमल्याण्ड खबर

२०७५ असार २१ गते, बिहीबार ०६:५५ मा प्रकाशित

देवः विकास बैंक लि.को नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ । पुष्पलाल चोकमा आयोजित एक समारोहकाबीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाज्यूले शाखा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा नगर प्रमुख राणाले देशको पश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको प्रवेशद्वारका रुपमा विकसित नेपालगञ्ज नगरबाट अन्तर्राष्ट्रिय उडान समेत संचालन हुने तयारीमा रहेकोले पर्यटकिय क्षेत्रमा लगानी बढाउनुका साथै कृषि क्षेत्रमा समेत लगानी बढाउन जोड दिए ।

बैंकका संचालक विजय राज शर्मा भुषालज्यूले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्ने बताए ।

सोही अवसरमा नेपाल राष्ट्र बैंक, नेपालगञ्ज क्षेत्रीय कार्यालयका व्यवस्थापक, विमलराज खनालले आर्थिक उत्पादकत्व बृद्धिका लागि कृषिमा लगानी बढाउन तथा नेपाल सरकारबाट कृषि विकासका लागि प्रदान गरिएका सुविधाहरुलाई उपयोग गर्न सुझाव दिए ।

यसै गरी आजै देवः विकास बैंकले बाँके जिल्लामा संचालित कोहलपुर शाखा कार्यालयको पनि उद्घाटन गरेको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले नगरपालिकाबाट प्रदान गरिने विभिन्न सामाजिक आर्थिक गतिविधीमा कोहलपुरमा रहेको बैंकहरुलाई प्राथमिकतामा राखी कार्य गर्ने एवं कोहलपुर नगरको सर्वाङ्गिण आर्थिक विकासका लागि बैंक वित्तीय संस्थाहरुको स्थापनाबाट थप मद्दत पुग्ने बिचार व्यक्त गरे ।