१२ मंसिर २०८१, बुधबार
उपत्यकामा चल्ने छोटो रुटमा सवारीले सरकारले निर्धारण नै नगरेको भाडा आफूखुसी बढाएर उठाउन सुरु गरेका छन् । संघीय सरकारले राष्ट्रिय स्तरमा अन्तरप्रदेश चल्ने सवारीको २८ प्रतिशतसम्म भाडा बढाएको भएपनि कतिपय उपत्यकाभित्रै बस चलाउने यातायात कम्पनीले भाडा बढाएका हुन् ।
राजधानीभन्दा बाहिरका थुप्रै रुटमा यसैगरी आफूखुसी भाडा बढाइएको छ । यातायात व्यवस्था विभागले लामो दूरीमा मात्रै भाडा बढाएको र स्थानीय तथा प्रादेशिक स्तरका रुटमा सम्बन्धित स्थानीय तह र प्रदेशले नै भाडा बढाउन सक्ने बताउँदै आएको छ । तर, अहिलेसम्म कुनै पनि प्रदेश र स्थानीय तहले भाडा वृद्धिको निर्णय लिएका छैनन् ।
‘प्रादेशिक सार्वजनिक यातायातको हकमा सम्बन्धित प्रदेश सरकार र स्थानीय सार्वजनिक यातायातको हकमा स्थानीय सरकार वा सम्बन्धित निकायबाट समायोजन नभएसम्म साविक बमोजिमकै भाडादर लागू हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सवारीको भाडामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।
सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन र सरोकारवाला पक्षहरुसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात, श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हासकट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा अन्तर प्रदेश चल्ने सवारीको भाडा बढाइएको थियो ।
विभागका अनुसार प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ । तर, भाडा बढाउने निर्णय नहुँदौ प्रदेशस्तरीय र स्थानीय रुटमा भाडा बढाउँदा पनि अनुगमन गरेर कारवाही गर्ने प्रक्रिया अघि बढेको छैन । यातायात व्यवसायीले संघ सरकारले बढाएकै दरमा स्थानयि तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।
प्रदेश र स्थानीय रुटमा औपचारिक रुपमा भाडा नबढाइएको यातायात व्यवसायीहरु आन्दोलित छन् ।
विभागले निकालेको सूचना