लक्ष्यभन्दा ५८ करोड बढी राजस्व संकलन

होमल्याण्ड खबर

२०७८ आश्विन १४ गते, बिहीबार १२:१६ मा प्रकाशित

आन्तरिक राजस्व कार्यालय धरानले आर्थिक वर्ष २०७७/७८ मा कूल दुई अर्ब ८७ करोड ५२ लाख राजस्व संकलन गरी १२५ दशमलव ६३ प्रतिशत प्रगति हासिल गरेको छ । सो अवधिमा कार्यालयले कूल दुई अर्ब २८ करोड ८६ लाख राजस्व स.कलन गर्ने लक्ष्यमा ५८ करोड ६६ लाख राजस्व बढी संकलन भएको कार्यालय प्रमुख तीर्थराज बरालले जानकारी दिए । संकलित राजस्वमा आयकर ९७ करोड २८ लाख, मूल्यअभिवृद्धि कर ९२ करोड ८८ लाख र अन्तःशुल्क ८९ करोड ६८ लाख छ ।

लगातार लक्ष्य हासिल गरिरहेको कार्यालयले आव २०७६/७७ मा कूल दुई अर्ब ३५ करोड राजस्व संकलन गरेको थियो । कार्यालय आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत वर्ष ५२ करोड बढी राजस्व संकलन गर्न सफल भएको छ । यसैगरी चालु आर्थिक वर्षको पहिलो महिना साउनमा कूल २६ करोड ६१ लाख र भदौमा १२ करोड ४७ लाख राजस्व संकलन गरी लक्ष्यमा ११८ प्रतिशत प्रगति हासिल गरेको प्रमुख बरालको भनाइ छ । उनले चालु आवमा वार्षिक दुई अर्ब ४२ करोड ७० लाख राजस्व संकलन गर्ने लक्ष्यमा असुली दर हेर्दा लक्ष्यमा पुग्न कुनै समस्या नहुने स्पष्ट पारे ।