मध्य भोटेकोशी जलविद्युतको आइपिओ बाँडफाँड, १४ लाख बढी आवेदकको हात खाली

होमल्याण्ड खबर

२०७८ कार्तिक १२ गते, शुक्रबार ११:२० मा प्रकाशित

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आइपिओ बाँडफाँड आज कार्तिक १२ गते नक्साल, काठमाडौं स्थित आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रिय कार्यालयमा सम्पन्न भएको छ।

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल २३ लाख ९० हजार २ सय १८ जना आवेदक मध्ये योग्य आवेदक २२ लाख ९४ हजार ४ सय ९६ जनाले आवेदन दिएकोमा १४ लाख ७५ हजार ४ सय ९६ जना आवेदकको हात खाली हुने भएको छ।

बाँकी आवेदकमा ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले शेयर पाउने भएका छन्। मध्य भोटेकोशी जलविद्युतको आइपिओमा ३ करोड ४१ लाख ८३ हजार २ सय ९० कित्ताको लागि कुल रु.३ अर्ब ४१ करोड ८३ लाख २९ हजार बराबरको आवेदन परेको थियो।

आवेदकले आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट र सिडिएससीको आइपिओ रिजल्ट हेर्ने नयाँ वेभसाइटबाट हेर्न सक्नुहुन्छ।

कम्पनीको जारी पूंजी रु.६ अर्बको १०% अर्थात रु.६० करोड बराबरको रु.१०० अंकित दरका ६० लाख कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% अर्थात १८ लाख कित्ता साधारण शेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ७०% अर्थात ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँड गरिएको तथा जारी पूंजीको १५% अर्थात ९० लाख कित्ता शेयर मध्ये ४% अर्थात ३ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५% अर्थात ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ८१ लाख ९० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको थियो।