माघ महिनाभित्र निक्षेप संकलनमा नेपाल बैंक अब्बल

होमल्याण्ड खबर

२०७८ फाल्गुन १० गते, मंगलवार १७:०३ मा प्रकाशित

नेपालका २७ वाणिज्य बैंकमध्ये नेपाल बैंक लिमिटेड माघ महिनाभित्र निक्षेप संकलनमा अब्बल देखिएको छ । बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुबैमा उच्च वृद्धि गरेको हो । माघ महिनामा निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा र कर्जा विस्तारमा वृद्धिको आधारमा दोस्रो स्थानमा छ ।

माघमा बैंकले निक्षेप २१।२६ प्रतिशतले वृद्धि गरेको हो । कर्जा विस्तार पनि २८।५१ प्रतिशतले बढाएको छ । यो अवधिमा २७ मध्ये १६ वाणिज्य बैंकहरूको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरूको निक्षेपमा गिरावट भएको देखिन्छ ।

वाणिज्य बैंकहरूको औसत निक्षेप वृद्धिदर १०।३७ प्रतिशत रहेको छ । पछिल्लो महिना २७ वटै वाणिज्य बैंकहरूको कर्जा विस्तारमा पनि वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरूको कर्जा विस्तारमा १६ प्रतिशत वृद्धि भएको देखिन्छ ।

नेपाल बैंकले नेपालभर २१३ शाखा, १४७ एटीएम साथै ४७ एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको दाबी गरेको छ । बैंकले पछिल्लो समय ग्राहक सेवा सुधारमा जोड दिइरहेको छ । प्रविधिमार्फत बैकिङ्ग सेवा प्रवाह गर्न पनि बैंक अग्रसर देखिन्छ ।

नेपाल बैंक देशकै पहिलो बैंक हो । सरकारी बैंक भएकाले पनि बचत एवम् मुद्दती खाताहरूमा निक्षेपकर्ताहरूको आकर्षण बढिरहेको नेपाल बैंकले दाबी गरेको छ ।