सुनको मूल्य तोलामा १९ सयले वृद्धि

होमल्याण्ड खबर

२०७८ फाल्गुन १८ गते, बुधबार १२:५३ मा प्रकाशित

सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलबारको तुलनामा आज तोलामा एकै दिन १९ सय रुपैयाँले बढेर सुनको मूल्य यो वर्षकै उच्च विन्दूमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९९ हजार ५ सय रुपैयाँ तोकिको छ । जुन २०७७ साल भदौं ३ पछिकै उच्च विन्दु हो । त्यसदिन छापावल सुनको मूल्य एक लाख चार सय रुपैयाँमा खरिद बिक्री भएको थियो । आज यस्तै तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।

आज चाँदीको प्रतितोला कारोबार मूल्य १३ सय ७५ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि नै मूल्य बढ्नुको प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ । यसअघि गत वर्ष साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन नेपाली बजारमा छापावल सुनको खरिद बिक्री मूल्य एक लाख तीन हजार रुपैयाँ तोकिएको थियो ।