११ मंसिर २०८१, मंगलवार
पछिल्लो एक सातामा खाने तेलको मूल्य सातामै ६० रुपैयाँसम्म बढेको छ । विशेष गरेर सन्फ्लावर र सोयाबिन तेलको मूल्य बढेको हो । गत साताबाट सुरु भएको रसिया र युक्रेनको युद्धसँगै नेपालमा अभाव हुने हल्ला चलाएरै मूल्य बढाइएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ७ महिनामा युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख ६१ हजारको कच्चा तेल आयात भएको छ । यस्तै रसियाबाट २ अर्ब ५८ करोड ७५ लाख ३६ हजार र अर्जेन्टिनाबाट २६ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको आयात भएको छ ।
रसिया युक्रेन युद्धसँगै अब बजारमा खाने तेलको मूल्य बढ्ने भन्ने र अभाव हुने भन्दै व्यापारीहरुले बजारमा कृत्रिम अभाव सिर्जना गराएको उपभोक्ताको आरोप छ ।
सबैभन्दा धेरै सन्फ्लावर निर्यातकर्ता युक्रेन र रसिया युद्धमा रहँदा त्यसको प्रभाव सोयाविन तलको मूल्यमा पनि परेको श्री राम रिफाइन आयलका सञ्चालक प्रदिप मुरारकाको भनाइ छ ।
नेपालमा सन्फ्लावर तेल युद्ध चलिरहेको रसिया र युक्रेनबाटै आयात हुने भए पनि सोयाविन तेल भने दक्षिण अमेरिकी राष्ट्रहरुबाट बढी आयात हुने गरेको छ ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालु आर्थिक वर्षको ७ महिनामा ३९ अर्ब ६६ करोड ५९ लाख ५६ हजारको तेल आयात भएको छ । जसमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट २७ अर्ब ४४ करोड ८० लाख ८ हजार रुपैयाँ बराबरको आयात भएको छ ।
त्यस्तै ब्राजिलबाट ६ अर्बभन्दा बढी र ५ अर्ब भन्दा बढीको पाराग्वेबाट आयात भएको छ । यस्तै युक्रनेबाट ७९ करोडको र इजिप्ट तथा उरुग्वेबाट पनि समान्य आयात भएको छ ।
यसले सन्फ्लावर तेलको आयात प्रभावित हुने अवस्था देखिए पनि सोयाविन तेलको आयातमा भने खासै प्रभाव पर्ने अवस्था देखिँदैन । तर, नेपालमा भने अहिले सन्फ्लावर र सोयाविन दुवै तेलको मूल्य उच्च रुपमा बढेको छ ।
दुई साता अगाडि दुई हजार देखि २२ सय रुपैयाँ रहेको प्रतिकाटुन तेलको मूल्य अहिले २५ देखि २७ सय रुपैयाँ पुगेको खुद्रा व्यापारीको भनाइ छ। यता उद्योगीहरु भने मूल्य त्यति धेरै नबढेको दाबी गरेका छन् ।
सामानको मूल्य बढ्छ भनेपछि व्यापारीले केही‘प्ले’ गर्ने अवस्था रहे पनि जुन रुपमा मूल्य बढाइएको चर्चा छ त्यस्तो हुन नहुने उद्योगी मुरारको तर्क छ । उद्योगीहरुले नै बजारमा खाने तेलको मूल्यमा कालो बजारी भएको उनी बताउँछन् ।
सन्फ्लावर तेलको मुल्यमा वृद्धि स्वाभाविक देखिए पनि सोयाविन तेलमा भने मूल्य बढ्नुपर्ने कारण नदेखिने मुरारकाको तर्क छ । अब नयाँ सामान ल्याउन मूल्य बढ्ने भएकोले अहिले केही मूल्य बढाएर बचेर नयाँ सामानमा नाफा नराखी बेच्नुपर्ने अवस्था रहेको उनको तर्क छ ।
यसैबीच राष्ट्रिय उपभोक्ता मञ्चले खानेतेलको मूल्यमा प्रतिलिटर ६० रुपैयाँसममा वृद्धि गराएको भन्दै आवश्यक कारवाहीको माग गरेको छ ।