सहकारीले ठूला उद्योग व्यवसायमा लगानी गर्नुपर्छः मन्त्री कैलाश ढुङ्गेल

होमल्याण्ड खबर

२०७५ भाद्र ८ गते, शुक्रबार ११:५५ मा प्रकाशित

जलस्रोत र पर्यटकको हब मानिएको दोलखा पछिल्लो समय सहकारी हबको रुपमा विकास हुँदै आएको छ ।

जिल्लास्थित सफल सहकारी मिलिजुली साकोसले २५ वर्ष पार गरेको उपलक्ष्यमा बिहीबार यहाँ आयोजित रजत महोत्सव तथा भवन शिलान्यास समारोहमा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सहकारीले अब ठूला उद्योग व्यवसायमा समेत लगानी गरेर सरकारको तीन खम्बे नीतिलाई सफल बनाउनुपर्ने बताए ।

सहकारीमा सुशासन र पारदर्शिता हेर्ने हो भने दोलखाको सहकारीको अध्ययन गर्नुपर्छ, उनले भने, “जिल्लाको दिगो विकासका लागि यहाँका सहकारीले लगानी विस्तार गर्नुपर्दछ ।”
सो अवसरमा मन्त्री ढुङ्गेलले साकोसद्वारा प्रकाशित मिलिजुली स्मृति पुस्तकको पनि विमोचन गरे ।
विसं २०६८ सालमा एक्सेस ब्राण्डका लागि प्रक्रिया शुरु गरेको मिलिजुलीलाई २०६९ सालमा राष्ट्रिय सहकारी बैङ्कले मध्यमाञ्चलको उत्कृष्ट सहकारी घोषणा तथा २०७१ मा नेफस्कुनले नेपालकै उत्कृष्ट सहकारी घोषणा गरेको थियो ।