११ मंसिर २०८१, मंगलवार
भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको छ । नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो ।
भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।
हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
तर, अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।
भारतबाट नेपालले ३ माध्यमबाट बिजुली किन्दै आएको छ । एक्सचेन्ज बजार, राज्य सरकार बिहार र पावर ट्रेड कर्पोरेसनबाट बिजुली किन्दै आएको छ । तर, अहिले भारत नै बिजुली सङ्कटबाट गुज्रिदा यी तिनै माध्यमबाट बिजुली किन्न सकिएको छैन ।