बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेर बनाइएको विषयमा छानविन हुनैपर्छ: ओली

होमल्याण्ड खबर

२०७९ असार २० गते, सोमबार १५:०५ मा प्रकाशित

प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा बिचौलियाको संलग्नता रहेको भन्दै संसदीय छानबिन गर्नुपर्ने माग गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले बजेट निर्माण गर्दा बिचौलियाको संलग्नता रहेको भन्दै संसदीय छानबिन गर्न माग गरेका हुन् ।

अध्यक्ष ओलीले भने, ‘यस विषयमा संसदीय छानबिन समिति बनाउँ । यसमा छानबिन हुनैपर्छ । यसरी बाहिरका बिचौलिया प्रयोग गरेर बजेट बनाउने कुरा कल्पना गर्न पनि सकिँदैन । योभन्दा बढी राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा के हुन्छ ?’

मन्त्रीहरुले लापरबाही ढंगले काम गर्दा पनि प्रधानमन्त्री शेरबहादुर जवाफदेही बन्न नसकेको आरोप पनि उनले लगाए । उनले भने, ‘अहिले मेरो नेतृत्वको सरकार र मन्त्रीले जे पनि गर्न पाउँछन् भनेर प्रधानमन्त्री बस्न मिल्दैन । संसदीय प्रणालीमा यसको प्रमुख प्रधानमन्त्री हुन्छ । यस्ता कुरामा अरु जवाफदेही भएनन् भने प्रधानमन्त्री जवाफदेही हुनुपर्छ ।’

अध्यक्ष ओलीले अर्थ मन्त्रालयले बजेट निर्माणको अघिल्लो दिनको फुटेज समेत सार्वजनिक नगरेर हटाएकोमा आपत्ति जनाए ।

‘फुटेज डिलिट गर्न पाइन्छ ? कर्तव्य हुन्छ, आफ्नो स्वच्छता प्रमाणित गर्ने, आउनुस् फुटेज हेरौं, आउनुस् छानबिन गरौं मन्त्रीले यो भन्न सक्नुपथ्र्यो, तर किन माग्दैमा दिने भनेर ललकार्ने ?’