आर्थिक वर्षको बजेट कृषि क्षेत्रमा केन्द्रित भएको अर्थमन्त्रीको दाबी

होमल्याण्ड खबर

२०७९ श्रावण १७ गते, मंगलवार १५:३७ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट कृषि क्षेत्रमा केन्द्रित भएको दाबी गरेका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले आयोजना गरेको ३० औं किसान सहिद दिवस तथा ६९ औं भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कृषिमा केन्द्रित बजेट भएकाले सबैलाई कृषि उत्पादनको क्षेत्र लाग्न आग्रह गरेका हुन् । उनले सम्बन्धित ठाउँको लागि चाहिने कृषि उपज त्यही ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए । कृषिकलाई चाहिने सामग्री वितरण गरेर उत्पादन बढाउनुपर्ने शर्माको भनाई छ । मन्त्र ी शर्माले बजेटमा किसानलाई पेन्सनको व्यवस्था गरिएको पनि स्मरण गराए ।

शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने उद्देश्यका साथ यसवर्षको बजेट आएको बताए । शर्माले नेपाली जनताको पक्षमा लड्नेहरुलाई सधै दमन गरेको भन्दै जनआन्दोलनको प्रक्रियाबाट अगाडी बढेर जनताका मागहरुलाई पूरा गर्ने काम गरेको बताए । समानता र स्वतन्त्रता स्थापित गर्दै जातीय विभेदको अन्त्य गरेको पनि शर्माले बताए ।

उनले भिम दत्तका सपनालाई पूरा गर्नु आजको आवश्यकता भएको बताए । भीमदत्त पन्त नेपालका एक शसक्त राजनीतिक कर्मी हुन् । कि त जोत हलो, कि त छोड थलो, होइन भने अब छैन भलो भन्दै सशक्त रूपमा किसान आन्दोलन गरेका भीमदत्त पन्त किसान नेताका रूपमा परिचित छन् । उनलाई २०१० साल श्रावण १७ गते पक्राउ गरेर भोलिपल्ट सिपाहीहरुले टाउको काटेर हत्या गरेका थिए ।