राष्ट्रिय वाणिज्य बैंकको ५ अर्ब २१ करोड खुद मुनाफा

होमल्याण्ड खबर

२०७९ श्रावण २२ गते, आईतवार १०:२५ मा प्रकाशित

राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८ र ७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित भएको छ । बैंकले यस अवधिमा रु ५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा बैंकको खुद मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा कर्जा लगानी तथा गुणस्तरमा उल्लेखनीय सुधार भई ब्याज आम्दानी बढेकाले खुद मुनाफा बढेको बैंकले जनाएको छ ।

आव २०७८ र ७९ को बैंकको खुद ब्याज आम्दानी रु ९ अर्ब ६७ करोड (गत वर्ष रु८ अर्ब २४ करोड) , कुल संचालन आम्दानी रु ११ अर्ब २७ करोड (गत वर्ष रु९ अर्ब ७६ करोड), संचालन नाफा रु.७ अर्ब १ करोड (गत वर्ष रु५ अर्ब ९ करोड), कुल समग्र आम्दानी रु ३ अर्ब ८ करोड (गत वर्ष रु ६ अर्ब ३७ करोड) तथा वितरणयोग्य मुनाफा रु ३ अर्ब ३ करोड रहेको छ ।

यससँगै २०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु२ खर्ब ५९ अर्ब र खुद कर्जा तथा सापट रु २ खर्ब २९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १.८९ प्रतिशतले कमी र कर्जा तथा सापटमा १८ प्रतिशतले वृद्धि भएको छ । आ।व। २०७८ र ७९ मा बैैंकको सेयरधनी कोष रु ४ अर्ब १ करोडले वृद्धि भई रु ३३ अर्ब ४ करोड र कुल सम्पत्ति रु १९ अर्ब रुपैंयाले वृद्धि भई रु ३ खर्ब २९ अर्ब पुगेको छ ।

२०७९ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १३.९७ प्रतिशत, कर्जा र निक्षेप अनुपात ८५.८९ प्रतिशत, आधार दर ७.६३ प्रतिशत, ब्याजदर अन्तर ४.२९ प्रतिशत, कोषको लागत दर ६.०१ प्रतिशत तथा प्रतिसेयर आम्दानी रु ३४.९० रहेको छ । यस अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपातमा उल्लेखनीय सुधार भई २ प्रतिशतमा झरेको छ ।