नेप्से दोहोरो अंकले घट्याे, ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा

होमल्याण्ड खबर

२०७९ श्रावण २३ गते, सोमबार १६:२६ मा प्रकाशित

आज (सोमबार) फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । बजार दोहोरो अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ । नेप्से ०.८३ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा झरेको छ ।

कूल २१४ वटा कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र उत्पादन तथा प्रषोधनबाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ। सबैभन्दा धेरै अन्य समूह घटेको छ।

त्यसैगरी, सोमबार पनि कारोबार रकममा शिवम् सिमेन्टले नै अग्रता कायम गरेको छ। कम्पनीको २० करोड ७१ लाख ६८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमालयन हाइड्रोपावर र गुराँस लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन जानकी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयरमूल्य ४।३१ प्रतिशतले घटेर ४ सय ४४ रूपैयाँमा झरेको छ ।